११ असोज, जनकपुरधाम । सर्लाहीमा जलाउन लागिएको एक विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ ।
सर्लाहीको रामनगर गाउँपालिका-१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणम लिएको हो ।
पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी पंजियारले बताए ।
परिवारका सदस्यले छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् । डिएसपी पंजियारका अनुसार पासो लागेर आत्महत्या गरेको जस्तो देखिएको छ र संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान भइरहेकोछ ।
थप कुरा पोस्टमार्टमपश्चात खुल्ने उनले बताए ।
आत्महत्या गरे पनि प्रहरीलाई जानकारी र कानुनी प्रक्रिया पूरा नै नगरी शव जलाउन खोजेकाले पतिसहित तीनैजनालाई पक्राउ गरेको डिएसपी पंजियारले बताए ।
घाटमै प्रहरी पुगेपछि केही मलामी भागेका थिए । मनिषाको गलामा निलडाम देखिएको प्रहरीले जनाएको छ ।
युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखेको छ । सर्लाहीकै कविलासी गाउँपालिका-३ घर माइत भएकी मनिषाको केही वर्ष पहिले विवाह भएको थियो ।
माइती पक्षले पतिसहित परिवारका सदस्य मिलेर मनिषाको हत्या गरेको दाबी गरेका छन् ।